🟢धनको घमन्ड
देउताहरूमा सबैभन्दा धनी कुबेर थिए । कहिलेकाहीँ देउताहरू धनसम्पत्तिको खाँचो पर्दा उनैकहाँ पुग्थे। कुबेर पनि मदत गरेर पठाउँथे । यसरी ठूलठूला देउताहरूसमेत आफूकहाँ मदत माग्न आउँछन् भन्दै कुबेर लाई धनको घमन्ड चढ्दै गयो। उनको घमन्डका बारेमा देउताहरूलाई थाहा नभएको होइन तैपनि सबै चुप थिए । गणेशजीचाहिँ कसरी कुबेरको घमन्ड तोडौँ भनी मौकाको खोजीमा थिए ।
एक दिन कुबेरले ठूलो भोजको आयोजना गरे । सबै देवी देउताहरूलाई निम्तो गरियो। भोजमा बलवान् भीमसेनदेखि रिसाहा ऋषि दुर्वासा सम्म थिए। सबै जना कुबेरको ठाँटबाँट देखी दङ्ग र आश्चर्यचकित भए । एक छिनपछि ठूलो भुँडी हल्लाउँदै गणेशजी पनि त्यहीँ पुगे ।
कुबेरले गणेशजीलाई देख्नेबित्तिकै बडो सम्मानका साथ भित्र लगे । उनलाई विभिन्न प्रकारका खाने कुरा खुवाउन थालियो । गणेशजी आफ्ना अगाडि भएका सबै खाने कुरा सिद्ध्याउन थाले । उनलाई खुवाउन मान्छेहरूले दौडादौड गर्दै खाने कुरा ल्याए । जति खाने कुरा ल्याए पनि गणेशजी एकै गाँसमा सिद्ध्याइदिन्थे । गणेशजीलाई खाने कुरा थप्दाथप्दै पकाएका सबै खाने कुराहरू सकिए । अझ पनि गणेशजीको पेट भरिएको थिएन ।
उता भान्सामा अरू खाने कुरा तयार पारिँदै थियो, यता गणेशजी अझै खाने कुरा ल्याऊ भनी माग्दै थिए ।
खाने कुरा ल्याउन ढिलो भयो भनी गणेशजी आफैं भान्सामा पुगे । पकाउँदा-पकाउँदैका खाने कुरा झिक्दै खान थाले। भान्सामा पनि सबै खाने कुरा सिद्धियो। गणेशजी मलाई अझ खाने कुरा चाहियो भन्दै कुर्लन थाले । कुबेरले गणेशजीसँग बिन्ती गर्दै भने “अब त नपकाएका दाल-चामल र तरकारी मात्र छन् । केही छिन पर्खनुपर्यो ।" गणेशजी झन् गर्जदै खोइ, कहाँ राख्या' छ, त्यही भए पनि ल्याउनुपर्यो भन्दै भण्डारतिर लागे । भण्डारमा भएभरका सबै अन्नहरू त्यत्तिकै खाइदिए। गणेशजीले खाएर भण्डार पनि रित्तो पारे। खोइ त अरू अन्नहरू कहाँ छन् ? भन्दै गणेशजी उफन थाले । कुबेरले आफ्नो त्यत्रो भण्डार पनि रित्तो भएको देखी उनको हंसले ठाउँ छोड्यो । कुबेर डराउँदै भन्न थाले "अब त भण्डारमा सबै थोक सकियो, केही छिन पर्खनुहोस् । म बाहिरबाट मगाउँछु ।”
यो सुनेपछि गणेशजी झन् रिसाएर भन्न थाले "तिम्रो भण्डारमा मलाई पेटभरि खुवाउने अन्नपात नभए किन डाक्यौ त ? मलाई त ज्यादै भोक लागेको छ । तिमीलाई भए पनि खान्छु ।"
गणेशजीको यो कुरा सुनेपछि कुबेर डरले भाग्न थाले । कुबेर अघि-अघि भाग्दै गए भने गणेशजी पछि-पछि लखेट्दै गए । धेरै बेरको दौडादौडपछि कुबेर कैलाशमा शङ्करजीलाई गुहार्न पुगे ।
कुबेरलाई देखेपछि शङ्करजीले भन्नुभयो - "कुबेर किन यसरी आत्तिएका ? के भयो ?"
कुबेर हात जोड्दै भन्न थाले "प्रभु, मैले बिराएँ, मेरो ज्यान बचाउनुहोस् । मैले बेर्थैमा आफ्नो धनको घमन्ड गरें ।"
शङ्करजीले गणेशजीलाई पनि सोध्नुभयो - "किन गणेश, कुबेरलाई किन लखेटेको ?'
गणेशजीले भने - "भगवान्, कुबेरले मलाई निम्तो डाकेर पेटभरि खान दिएनन्, भोकै छु ।"
"तिमी भित्र जाऊ, आमासित मागेर पेटभरि खाऊ ।" शङ्करजीले गणेशजीलाई सम्झाएर भित्र पठाउनुभयो ।
त्यहाँबाट कुबेर आफू कहिल्यै पनि धनको घमन्ड नगर्ने प्रतिज्ञा गरी फर्के ।